काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ रेड्मी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई ध्यानमा राखेर ल्याइएको यो इयरबड्स आरामदायी हुनुका साथै सानो र हलुका डिजाइनमा उपलब्ध छ ।
रेड्मी बड्स ८ एक्टिभ कानको प्राकृतिक बनावटसँग मिल्ने 'इन-इयर कर्भ' डिजाइनमा बनाइएको छ । यसले गर्दा लामो समयसम्म प्रयोग गर्दा पनि कानमा दबाब कम महसुस हुन्छ र कुनै असहजता नहुने कम्पनीको दाबी छ । यसको हलुका बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र बोक्न पनि निकै सहज छ ।
कम्पनीका अनुसार यी बड्समा एक पटकको चार्जमा अधिकतम ७ घण्टा र चार्जिङ केससहित कुल ३७ घण्टासम्मको ब्याट्री ब्याकअप पाउन सकिन्छ । यसमा रहेको फास्ट चार्जिङ सुविधाले गर्दा केवल १० मिनेटको चार्जमा करिब २ घण्टासम्म प्रयोग गर्न सकिने बताइएको छ ।
सुधारिएको ब्याट्री क्षमताका कारण यसलाई बारम्बार चार्ज गरिरहनु पर्ने झन्झट हुँदैन । राम्रो ध्वनिका लागि यसमा ठुलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ । टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट आवाज प्रदान गर्दछ ।
साथै एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको गुणस्तर र विवरणलाई जोगाएर राख्ने भएकाले प्रयोगकर्ताले स्पष्ट र गहिरो (इमर्सिभ) ध्वनिको अनुभव पाउनेछन् । प्रयोगकर्ताले अझ स्पष्ट आवाज सुन्न र बोल्नका लागि यसमा डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोग लिइएको छ ।
यो प्रविधिले वरपरको अनावश्यक आवाज (Noise) लाई कम गरी कललाई स्पष्ट बनाउँछ । साथै ६ मिटर प्रति सेकेन्डको हावाको चापमा पनि उत्कृष्ट प्रदर्शन गर्ने 'विन्ड नोइज रिडक्सन' प्रविधि पनि यसमा समावेश गरिएको छ । स्मार्ट कनेक्टिभिटीका लागि यसमा गुगल फास्ट पियरको सुविधा छ ।
जसले छिटो र सहज रूपमा कनेक्ट गर्न मद्दत गर्छ । साथै दुईवटा डिभाइससँग एकैसाथ कनेक्ट हुन सक्ने भएकाले सजिलै स्विच गर्न सकिन्छ । यो इयरबड्स पानीका छिटा र धुलोबाट सुरक्षित (IP rated) रहेकाले यात्रा, दैनिक आवतजावत वा व्यायाम गर्दा प्रयोग गर्न निकै उपयुक्त छ ।
नेपाली बजारमा रेड्मी बड्स ८ एक्टिभ कालो र सेतो दुई आकर्षक रङमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ४ हजार ४९९ रुपैयाँ तोकेको छ ।