काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खला खलबलिँदा भारतमा फेरि इन्धन मूल्य बढेको छ । भारतका इन्धन कम्पनीहरूले पछिल्लो १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थ (पेट्रोल र डिजेल) को मूल्य बढाएका छन् ।
इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि विश्व ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग ‘स्टेट अफ होर्मुज’ मा अवरोध सिर्जना भयो, जसले गर्दा आपूर्ति शृङ्खलामा प्रत्यक्ष प्रभाव परिरहेको छ ।
पछिल्लो मूल्यवृद्धिसँगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय भारु नाघेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर २.६१ भारु बढाइएको छ । योसँगै दिल्लीमा पेट्रोलको नयाँ मूल्य १०२.१२ भारु पुगेको छ । त्यसैगरी डिजेल मूल्य पनि प्रतिलिटर २.७१ ले बढेर ९५.२० भारु कायम भएको छ ।
दिल्लीबाहेक भारतका अन्य प्रमुख सहरमा पनि इन्धन भाउ आकासिएको छ । कोलकातामा पेट्रोलको मूल्य प्रतिलिटर ११३.५१ भारु पुगेको छ भने मुम्बईमा १११.२१ भारु कायम भएको छ । त्यस्तै चेन्नईमा प्रतिलिटर २.४६ ले बढेर पेट्रोलको मूल्य १०७.७७ भारु पुगेको छ ।
यसअघि शनिबार (मे २३) पनि पेट्रोल र डिजेलको मूल्य बढाइएको थियो । उक्त दिन पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसा महँगिएको थियो ।
चुनाव सकिए लगत्तै निरन्तर मूल्यवृद्धि
भारतका चार राज्य पश्चिम बंगाल, असम, केरल, तमिलनाडु र केन्द्र शासित प्रदेश पुडुचेरीमा हालै सम्पन्न विधानसभा निर्वाचनपछि आयल मार्केटिङ कम्पनीहरूले आफ्नो घाटा पूर्ति गर्न निरन्तर मूल्य बढाइरहेका छन् । निर्वाचनको समयमा स्थिर राखिएको मूल्य चुनाव सकिए लगत्तै बढाउन थालिएको हो ।
यस महिना सुरुवाती वृद्धि १५ मेमा भएको थियो, जुनबेला पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर ३ भारु बढाइएको थियो । त्यसपछि १९ मेमा पनि करिब ९० पैसा मूल्यवृद्धि गरिएको थियो । त्यसको केही दिनपछि २३ मे र आज (२५ मे) गरी जम्मा चार पटक मूल्य बढिसकेको छ ।
समग्रमा हेर्दा यी चार पटकको वृद्धिमा पेट्रोलको भाउ प्रतिलिटर कुल ७.४१ भारु बढिसकेको छ । त्यसैगरी डिजेलको मूल्यमा पनि क्रमश ३ रुपैयाँ, ९० पैसा, ९१ पैसा र २ रुपैयाँ ७१ पैसा गरी कुल ७.५१ भारु वृद्धि भइसकेको छ ।