काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने जानकारी गराएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको दाबी पनि गरे ।
‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ । हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भने, ‘राष्ट्रविरोधी क्रियापकलाहरू, देशमा आर्थिक संकट झन चर्काउनका लागि अरबौं अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रुपमा अगाडि बढाउने कोसिस पनि गरेका छौं ।’
प्रचण्डले समाजवादी मोर्चा विचारधारात्मक आधारमै निर्माण भएको बताएका छन् । उनले प्राप्त उपलब्धिको रक्षा गर्न पनि आफूहरू एक ठाउँ आएको बताएका छन्।
गणतन्त्र स्थापना पछि जनताले जुन अपेक्षा गरेका थिए त्यो भएन। एकथरीले परिवर्तन उल्ट्याउने प्रयास गरे र गरिराखेका छन्, उनले भने, त्यसकारण मोर्चावाला प्राप्त उपलब्धिलाई बचाउँदै समाजवादी दिशा तयार गर्न एक ठाउँ आएका हौं।
मोर्चामा आबद्ध दलहरूको आन्तरिक व्यवस्थापन तथा देशमा उत्पन्न राजनीतिक परिस्थितिका कारण मोर्चा केही समय सुस्ताएको स्वीकारे। बेलाबखत माओवादीलाई दोष दिने गरिए पनि आफूहरूको अरुचिको कारण मोर्चाले गति नलिएको भन्ने कुराको खण्डन गरे।
प्रचण्डले मोर्चालाई अब देशको राजनीतिक विकल्पको रुपमा अघि आउने गरि अघि बढाउनुपर्ने धारणा राखे।