हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ७० अर्बको बजेट ल्याउँदै छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नेछन् । ‘६८ अर्बभन्दा नघट्ने र ७० अर्बभन्दा नबढ्ने गरी बजेट प्रस्तुत हुने छ’ मन्त्रालय स्रोतले भन्यो ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेशका मन्त्रालयहरुले शनिबार अबेर रातिसम्म प्रदेशको बजेट प्रणाली (पीएलएमबीएस)मा बजेट विवरण प्रविष्ट गरेका छन् ।
कसलाई कति बजेट सिलिङ तोकिएको थियो ?
यसअघि भौतिक मन्त्रालयले १४ अर्ब, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयले ५ अर्ब, स्वास्थ्य मन्त्रालयले ३ अर्ब, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब ५१ करोड, वन तथा वातावरण मन्त्रालयले २ अर्ब २५ करोड, सामाजिक विकास मन्त्रालयले १ अर्ब ८५ करोड, संस्कृति तथा पर्यटन मन्त्रालयले १ अर्ब ४८ करोडको सिलिङ पाएका थिए ।
यस्तै, बाँकी मन्त्रालयले पाएको सिलिङ गाउँपालिकाहरुको बजेट जति र कतिको उपमहानगरको वडाहरुको जति बजेट सिलिङ थियो । पूर्वाधार विकास, नागरिकको रोजगार, श्रम र उद्योगसँग जोडिएका मन्त्रालयको सिलिङ गाउँपालिका जतिकै छ । करोडमा सिलिङ पाउने ७ वटा मन्त्रालयमध्ये ५ वटा विकासे अड्डा हुन् ।
युवा तथा खेलकुद मन्त्राललाई ६१ करोड, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयलाई ६१ करोड, श्रम रोजगार तथा यातायात मन्त्रालयलाई ७१ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जम्मा २१ करोड रुपैयाँको बजेट सिलिङ तोकिएको थियो ।
आर्थिक मामिला मन्त्रालय आफैंले ३७ करोडको सिलिङ राख्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ३५ करोड रुपैयाँको सिलिङ पठाइएको थियो । करोडमा सिलिङ पाउने ७ वटामध्ये मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला र आन्तरिक मामिला तथा कानुन बाहेकका मन्त्रालय यसअघि पटक–पटक सरकार परिवर्तनमा बहुमत जुटाउन वा सांसदलाई चित्त बुझाउन दलीय भागबण्डामा फुटाइएका मन्त्रालय छन् ।
पछिल्लो पटक गत २७ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको थियो । बागमती प्रदेश प्रदेश स्थापनाको ७ वर्षमा मन्त्रालयहरुको संख्या दोब्बर पुगेको छ ।