काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार विहान फिफा विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे ।
रोनाल्डोको पेनाल्टी गोल र गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा क्रोएसियालाई २-१ ले हराएर पोर्चुगल अन्तिम १६ मा पुगेको छ र उपाधिको सम्भावना कायम राखेको छ ।
रोनाल्डोले उत्तर अमेरिकामा जारी विश्वकपमा यात्रा लम्ब्याउँदा नयाँ खबर बाहिरिएको छ ।
रोनाल्डोले यस विश्वकप पछि सन्यास लिनेछन् ।
रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप २०२६ सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् ।
पोर्चुगलले क्रोएसियामाथि अन्तिम समयमा जित हासिल गर्दा रोनाल्डोको परिवार स्रोतबाट यो खबर बाहिर आएको हो ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट विश्वकपमा डेब्यु गरेका रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेलिरहेका छन् र दुई दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा जमिरहेका छन् ।
रोनाल्डोकै परिवारबाट सन्यासको खबर सार्वजनिक भएपछि यो सत्य हुन सक्ने अनुमान धेरैको छ ।
‘यो जति समय रहन्छ, यसको मजा लिनुहोस् । यो चाँडै नै अन्त्य हुँदैछ । एक विश्वसनीय स्रोतबाट मैले पाएको जानकारी अनुसार‘ यो उनको ‘लास्ट डान्स’ (अन्तिम प्रतियोगिता) हो,’ खेलको प्रत्यक्ष प्रसारणका क्रममा रोनाल्डोकी दिदीले ‘स्पोर्ट टिभी’ सँग भनिन् ।
अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी २४६ खेल खेल्दै १४६ गोल गरिसकेका छन् । यस्तै उनले करियरमा कूल ९७६ गोल गरेका छन् र १००० गोल नजिक छन् ।
क्रोएसिया विरुद्ध गोलपछि रोनाल्डोले विश्वकपमा संख्या ११ पुर्याएका छन् ।
यस्तै क्रोएसिया विरुद्ध खेल्दै विश्वकपमा मैदान उत्रने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका रोनाल्डो नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी समेत बनेका छन् । क्रोएसिया विरुद्ध गोल गर्दा रोनाल्डो ४१ वर्ष १४७ दिनका थिए ।
समग्रमा भने विश्वकपमा गोल गर्ने पाका खेलाडी क्यामरुनमा रोजर मिल्ला हुन् । मिल्लाले सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा रसिया विरुद्ध ४२ वर्ष ३९ दिनको हुँदा गोल गरेका थिए ।