मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिँदै, बिहान ११ बजे पुनः संसदीय दलको बैठक बोलाइयो
हेटौंडा । नेकपा बागमती प्रदेशभित्र मन्त्री बाँडफाँड तथा सरकारमा सहभागितालाई लिएर असन्तुष्टि देखिएपछि प्रदेश संसदीय दलको बैठक प्रभावित भएको छ।
आइतबार बिहान हेटौंडा–१० स्थित प्रदेश संसदीय दलको कार्यालयमा बोलाइएको बैठक सांसदहरूको पर्याप्त उपस्थिति नहुँदा बस्दै नबसी स्थगित भएको हो।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ। विश्वासको मतका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गर्ने तयारीस्वरूप बैठक बोलाइएको भए पनि बैठक नै स्थगित भएपछि नेकपाभित्रको आन्तरिक असन्तुष्टि चर्चामा आएको हो।
स्रोतका अनुसार नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै रहेका छन्। साथै, तत्कालीन नेकपा (एकीकृत समाजवादी) पक्षबाट आएका सांसदहरूले नयाँ मन्त्रिपरिषद्मा सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका कारण पनि बैठक प्रभावित भएको बताइएको छ।
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालय बाँडफाँड हुँदा नेकपाको भागमा दुई मन्त्रालय परेको छ। नेकपाले सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरिसकेको छ। अब नेकपाबाट एक जना मन्त्री नियुक्त गर्न बाँकी रहेको बताइएको छ।
स्रोतका अनुसार नेकपा नेतृत्वले तत्कालीन नेकपा (एस)की सांसद रमा आलेलाई मन्त्री बनाउने तयारी गरेको छ। मन्त्री चयन र सरकारमा सहभागिताको विषयमा भने दलभित्र विभिन्न धारणा रहेको बताइएको छ।
तर, नेकपा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिग्राम जमरकट्टेलले भने दलभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले सोमबार बिहान ११ बजे पुनः संसदीय दलको बैठक बोलाइएको जानकारी दिँदै उक्त बैठकबाट मुख्यमन्त्री थापाको विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरिने बताएका छन्।
बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिनुपर्ने अवस्थामा नेकपा संसदीय दलको सोमबार बिहान बस्ने बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उक्त बैठकमा सांसदहरूको उपस्थिति, मन्त्री बाँडफाँडप्रतिको असन्तुष्टि र विश्वासको मतका विषयमा हुने निर्णयले सरकारको आगामी राजनीतिक समीकरणसमेत प्रभावित पार्न सक्ने देखिएको छ।
— kairannepal.com
सत्य, तथ्य र निष्पक्ष समाचार