काठमाडौँ । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको मार्गचित्र (घोषणापत्र) प्रस्तुत गरिएको छ । भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा नेता देव गुरुङले नवगठित पार्टीको संक्षिप्त मार्गचित्र प्रस्तुत गरेका हुन् ।
उनले पार्टीको विस्तृत घोषणापत्र भने अब कार्यदलले बनाउने उल्लेख गर्दै अहिले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउन तयार गरिएको प्रस्तावका रूपमा रहेको बताए ।
संक्षिप्त घोषणापत्रमा २३ बुँदे प्रतिबद्धता समेटिएका छन् । जसमा समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध, नेपालको संविधानको रक्षासहित सङ्घीयताको सवलीकरणका लागि परिमार्जन गरिने, भ्रष्टाचार नियन्त्रण र सुशासन, सम्पत्ति जाँचबुझ आयोग गठन र भ्रष्टाचारीलाई कारबाही गर्न कदम चाल्ने, स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवाको ग्यारेन्टी गरिने घोषणापत्रमा समावेश छ ।
त्यस्तै बहिष्करण र वञ्चितिकरणमा परेकाहरूको अधिकार सुनिश्चित गर्न लागि पर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण र गरिबी नियन्त्रणको प्रयास गर्नेलगायत रहेका छन् ।