×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बुटवल । बुटवलमा मंगलबारदेखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय सीटी क्याम्पस बुटवल र भारतको उत्तर प्रदेशस्थित मथुरा प्रसाद महाविद्यालय (कोंच) को संयुक्त आयोजनामा यो सम्मेलन आयोजना हुँदैछ ।

‘बुद्ध र अहिंसा विश्वशान्ति, करुणा र सामाजिक रूपान्तरणका ऐतिहासिक तथा समसामयिक आयाम’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

सीटी क्याम्पसको सभाहलमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले उद्घाटन गरे ।

मन्त्री घिमिरेले विश्व अहिले हिंसा र द्वन्द्वको चपेटामा रहेको र त्यसको प्रभाव नेपालमा पनि परिरहेको बताए ।

‘विश्वजगत्ले बुद्धको अहिंसाको सन्देशलाई आत्मसात् गर्दै शान्ति स्थापनामा भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘शान्ति र अहिंसाले मात्रै विश्वले आर्थिक र विकासको मार्गमा हिँड्न र प्रगति गर्नसक्छ ।’

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको मथुरा महाविद्यालयले शान्ति स्थापनामा जोड दिँदै बुद्धको अहिंसाको शिक्षा फैलाउने काम गरेको उनले उल्लेख गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले यो सम्मेलनले बुद्धका शिक्षालाई विश्वभर फैलाउन र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विश्वविद्यालयका सह–प्राध्यापक एवं पूर्व रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले बुद्ध शिक्षामार्फत सिङ्गो मुलुक र विश्वभर शान्तिको सन्देश प्रवाह गर्दै आएको बताए ।

उद्घाटन सत्रमा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई बद्रीप्रसाद गौतमले धन्यवाद ज्ञापन गरेका थिए भने सत्रको समापन मथुरा प्रसाद महाविद्यालय, जालौनका प्राचार्य सुरेन्द्र सिंहले गरेका थिए ।

सीटी क्याम्पसका सहायक क्याम्पस प्रमुख जेबी क्षेत्रीले अध्ययन अनुसन्धानलाई जोड दिदै अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको बताए । उनले सेमिनारमा ५० वटा कार्यपत्र प्रस्तुत हुने र आगामी दिनमा निरन्तर सेमिनार बुटवलमा हुने बताए ।

प्रतिकृया दिनुहोस्