×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

एआई फिचर बारे झूटो प्रचार गरेको एप्पल पैसा फिर्ता गर्न तयार, प्रति आईफोन १४.५ हजारसम्म पाइने

एआई फिचर बारे झूटो प्रचार गरेको एप्पल पैसा फिर्ता गर्न तयार, प्रति आईफोन १४.५ हजारसम्म पाइने

काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पल आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरका बारेमा भ्रमपूर्ण जानकारी दिएको आरोपमा २५ करोड अमेरिकी डलर (करिब ३८ अर्ब ४ करोड रुपैयाँ) तिर्न सहमत भएको छ । एप्पल इन्टेलिजेन्स र परिष्कृत सिरीका फिचरका बारेमा ग्राहकलाई झुक्याएको भन्दै अमेरिकामा दायर गरिएको क्लास-एक्सन मुद्दा सुल्झाउन कम्पनी यो ठुलो रकम तिर्न तयार भएको हो ।

अदालतमा दर्ता गरिएको प्रस्तावित सम्झौता अनुसार अमेरिकामा १० जुन २०२४ देखि २९ मार्च २०२५ को बीचमा आईफोन १५ र १६ सिरिज खरिद गर्ने ग्राहकहरूले क्षतिपूर्तिका लागि दाबी गर्न सक्नेछन् । जसमा आईफोन १६ सिरिजका सबै मोडेलहरू आईफोन १६, १६ प्लस, १६ प्रो, १६ प्रो म्याक्स र १६ ई रहेका छन् । त्यस्तै आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स खरिद गर्ने ग्राहकले समेत रकम दाबी गर्न पाउनेछन् ।

दाबी गर्नेहरूको कूल सङ्ख्याका आधारमा प्रयोगकर्ताले प्रति डिभाइस न्यूनतम २५ डलर (करिब ३८०० रुपयाँ) देखि अधिकतम ९५ डलर (करिब १४,४५५ रुपैयाँ) सम्म फिर्ता पाउन सक्ने बताइएको छ । यो सम्झौताले अमेरिकाका करिब ३ करोड ६० लाख डिभाइसहरूलाई समेट्ने अनुमान गरिएको छ ।

के थियो मुख्य विवाद ?

एप्पलले सन् २०२४ को जुनमा भएको डेभलपर्स कन्फरेन्समा एप्पल इन्टेलिजेन्स र नयाँ सिरीको घोषणा गरेको थियो । सेप्टेम्बरमा आईफोन १६ सार्वजनिक गर्दा कम्पनीले यसलाई एप्पल इन्टेलिजेन्सका लागि बनेको भन्दै आक्रामक विज्ञापन गरेको थियो ।

तर वास्तविकतामा ती फिचरहरू फोन सार्वजनिक हुँदा उपलब्ध थिएनन् ।वादीहरूले एप्पलले ती सुविधाहरू 'अहिले नै उपलब्ध' भएको भन्दै झूटो प्रचार गरेर आईफोनको बिक्री बढाउन खोजेको आरोप लगाएका थिए ।

क्लार्कसन ल फर्मका अनुसार एप्पलले बजारमा यस्ता सुविधाहरूको प्रचार गर्‍यो, जुन त्यो समयमा अस्तित्वमै थिएनन् र पूर्ण रूपमा उपलब्ध हुन अझै दुई वर्ष वा सोभन्दा बढी समय लाग्न सक्छ । मोर्गन स्टेनलीको एक सर्वेक्षण अनुसार ग्राहकहरूले आईफोन १६ किन्नुको मुख्य कारण नै 'इन्हान्स्ड सिरी' थियो, जुन लामो समयसम्म उपलब्ध भएन ।

यद्यपि एप्पलले कानुनी रूपमा आफ्नो कुनै गल्ती स्वीकार गरेको छैन । कम्पनीकी प्रवक्ता मार्नी गोल्डवर्गले प्रयोगकर्ताहरूका लागि नवीन उत्पादन र सेवाहरू प्रदान गर्ने मुख्य काममा केन्द्रित रहनका लागि यो कानुनी झमेलालाई सुल्झाउन सहमत भएको बताएकी छिन् ।

एप्पलले हालसम्म इमेज प्लेग्राउन्ड, जेनमोजी, राइटिङ टुल्स, भिजुअल इन्टेलिजेन्स र सिरीमा च्याटजीपीटीको एकीकरण जस्ता एआई फिचरहरू क्रमिक रूपमा उपलब्ध गराइरहेको बताएको छ । साथै कम्पनीले सिरीलाई थप शक्तिशाली बनाउन गुगलको जेमनाई एआई मोडेल प्रयोग गर्ने घोषणा समेत गरिसकेको छ । जुन सन् २०२६ को अन्त्यसम्ममा पूर्ण रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यो २५ करोड डलरको सम्झौतालाई क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतकी न्यायाधीश नोएल वाइजले आगामी १७ जुनमा हुने सुनुवाइमार्फत अन्तिम स्वीकृति दिनुपर्नेछ । एआईको दौडमा आफ्ना एन्ड्रोइड प्रतिस्पर्धीहरू भन्दा पछि परिरहेको एप्पलका लागि यो मुद्दा र जरिबानालाई एउटा ठुलो धक्काको रूपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्