×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

नेपालगञ्जमा क्वाइलिङ विधिबाट विनाअप्रेशन मस्तिष्क रक्तस्रावको सफल उपचार

नेपालगञ्जमा क्वाइलिङ विधिबाट विनाअप्रेशन मस्तिष्क रक्तस्रावको सफल उपचार

काठमाडौं । बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ ।

दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ ।

यस समस्याबाट पीडित बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ५ की ५७ वर्षीया दुखनडिया थारुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरोसर्जरी विभागका डा. निरज घिमिरे, डा. मनिष कोलाक्षपति र डा. सुवोध गौतमको टिमले सफल उपचार गरेको हो । यो उपचारमा मेडिकल कलेजका वरिष्ठ ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा. नविन रेग्मी, स्टाफ नर्सहरु कमला वली, मनिषा चिलवाल र सरस्वती पन्थी पनि संलग्न थिए ।

चिकित्सकका अनुसार ‘ब्रेन एन्यूरिज्म’ भई रक्तस्राव भएका बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा– टाउको पूरै खोलेर (क्लिपिङ) विधिबाट र अर्को-खुट्टाको नसाबाट तार छिराएर क्याथल्याब प्रयोग गरी दिमागको फुटेको नसा बन्द गराउने विधिबाट ।

यसअघि गत साउन महिनामा डा. घिमिरेसहितको टोलीले नै दाङकी एक ५३ वर्षीया महिलामा देखिएको ब्रेन एन्यूरिज्मको उपचार क्लिपिङ विधिबाट गरेको थियो । यसपटक भने बाँकेकी दुखनडिया थारुको खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधि (क्वाइलिङ)बाट उपचार गरिएको हो ।

‘क्वाइलिङ विधिमा खुट्टाको नसाबाट पाइप छिराएर दिमागको नसा फुटेको स्थानसम्म पुर्‍याई प्लेटिनमले बनेको क्वाइलले बन्द गर्ने काम गरिन्छ,’ उपचारमा संलग्न न्यूरो सर्जन डाक्टर घिमिरे भन्छन्, ‘प्रविधिको हिसाबले नयाँ भएकाले यो जटिल छ तर चिरफार गर्न नपर्ने र धेरै एन्टिबायोटिक चलाउनु नपर्ने भएकाले बिरामीलाई भने सजिलो हुन्छ ।’

दुखनडिया थारुलाई धेरैपटक उल्टी आउने र टाउको दुख्ने समस्या भएर बाहिरबाट रिफर गरेर गत मंसिर १५ गते मेडिकल कलेज शिक्षण अस्पतालको नेपालगञ्ज नर्सिङ्ग होमको इमरजेन्सीमा ल्याइएको थियो । उनको उपचारमा संलग्न न्यूरोसर्जन डा. मनिष कोलाक्षपति भन्छन्, ‘सोही दिन बिरामीको एमआरआई एन्जियोग्राफी गरेर हेर्दा रिपोर्टमा साधारण रगत मात्रै बगेको देखियो । त्यसपछि आईसीयूमा प्रत्यक्ष निगरानी गरेर राख्यौं । बिरामीको बिस्तारै होस गुम्दै गयो । हामीले पुनः बिरामीको रोगको प्रकृति र अवस्था हेरेर डि.एस.ए प्रविधिबाट मंसिर २० गते टाउकोको रगत नलीलाई पुनः हेर्यौं र त्यसमा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) देखियो ।’

त्यसपछि करिब तीन घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा संलग्न अर्का न्यूरोसर्जन डा. घिमिरे भन्छन्, ‘ब्रेन एन्यूरिज्म देखिएपछि हामीले नयाँ प्रविधि क्वाइलिङ्ग विधिबाट विना शल्यक्रिया बिरामीको उपचार गर्‍यौं । यो विधिको उपचार सुविधा काठमाडौंका ग्राण्डी, ह्याम्स, बाँसबारीको न्युरो अस्पताल र झापाको बी एण्ड सी मेडिकल कलेज बाहेक अरु ठाउँमा भएको जानकारी मलाई छैन ।’

मंसिर २३ गते नयाँ विधिबाट गरिएको उपचार पश्चात बिरामीलाई यही पुस १२ गते डिस्चार्ज गरिएको थियो । अस्पतालबाट डिस्चार्ज हुने बेला बिरामीका छोरा अशफिलाल थारुले आमाको उपचार सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘काठमाडौंसम्म गएर उपचार गराउन हाम्रो लागि सम्भव थिएन । यहीँका डाक्टर र नर्सहरुको साथ, सहयोग र राम्रो उपचारले आमालाई बचाउन सफल भइयो ।’

उपचारमा संग्लन न्यूरो सर्जन डा. सुबोध गौतमका अनुसार चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहन्छ । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ ।

‘धेरैजसो बिरामीको यो समस्या पत्ता नै नलागेर मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि पर्याप्त स्रोत, साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा. गौतम भन्छन्, ‘काठमाडौंभन्दा कम खर्चमा पश्चिम नेपालमै यस्तो जटिल खालको उपचार हुनु भनेको नेपालको न्यूरो सर्जरी जगतमै एकदमै प्रगति भएको मान्न सकिन्छ । विश्वमै भएका नयाँ प्रविधिलाई हामीले हाम्रो विरामीमा प्रयोग गरेर विनाअप्रेशन उपचार गर्न सफल भएका छौं ।’

डा. घिमिरेका अनुसार क्वालिङ विधिबाट ब्रेन एन्यूरिज्मको उपचार गर्न कि रेडियोलोजी गरेर तीन वर्षको डिएम कोर्स गर्नुपर्छ, कि न्यूरो सर्जरीबाट गएको छ भने अस्पतालमा त्यससम्बन्धी तालिमको व्यवस्था हुनुपर्छ । ‘मैले काम गरिरहेको अस्पतालमा तालिमको व्यवस्था थियो र बीचमा म यसैको लागि जापान पनि गएर आएको थिएँ,’ उनले भने ।

उनी भन्छन्, ‘यदि बिरामीलाई मस्तिष्कघात भएका बिरामीलाई हृदयाघातको समेत उपचार हुने क्याथ ल्याब विधिमार्फत् इण्डोभास्कुलर मेकानिकल थ्रोम्बेक्टोमी गरी ६ घण्टाभित्र क्लट (जमेको रगत) निकाल्न सकियो भने बिरामीलाई अपांगता र पक्षघातबाट जोगाउन सकिन्छ ।’

 

प्रतिकृया दिनुहोस्