काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित ‘रेड्मी नोट १५’ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो प्लस फाइभजी, रेड्मी नोट १५ प्रो फाइभजी, रेड्मी नोट १५ फाइभजी र रेड्मी नोट १५ फोरजी गरी चार ओटा मोडेल रहेका छन् ।
सिरिजको सबैभन्दा माथिल्लो मोडेल रेड्मी नोट १५ प्रो प्लस फाइभजी मा ६,५०० एमएएचको सिलिकन-कार्बोन ब्याट्री प्रयोग गरिएको छ । १०० वाटको हाइपर-चार्ज सुविधा रहेको यो फोन करिब ४० मिनेटमै फुल चार्ज हुने बताइएको छ । यसमा प्रयोग गरिएको रेड्मी टाइटन प्रविधि, कर्निंङ गोरिल्ला ग्लास भिक्टस २ र २.५ मिटरको ड्रप रेसिस्टेन्सले फोनलाई मजबुत बनाएको कम्पनीको भनाइ छ । यो फोन धुलो र पानीबाट सुरक्षाका लागि आईपी६६/आईपी६८/आईपी६९ र आईपी६९के प्रमाणित छ ।
फोटोग्राफीका सौखिनहरूका लागि प्रो मोडेलहरूमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । प्रो प्लस फाइभजी मोडेल स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसरमा चल्छ भने प्रो फाइभजी मोडेलमा मिडियाटेक डाइमेन्सिटी ७४००-अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । दुवै मोडेलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम ब्राइटनेस ३,२०० निट्स रहेको छ ।
त्यस्तै, रेड्मी नोट १५ फाइभजी ७.३५ एमएम प्रोफाइलका साथ आएको छ । यो रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो फोन हो । यसमा १०८ मेगापिक्सेलको क्यामेरा र ५,५२० एमएएचको ब्याट्री छ । फोरजी मोडेलमा ६,००० एमएएचको ठुलो ब्याट्री र १०८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा उपलब्ध छ ।
यस सिरिजका सबै फोनहरूमा गुगल जेमिनाई र 'सर्कल टु सर्च' जस्ता एआई सुविधा छन् । प्रो मोडेलहरूमा नेटवर्क नभएको ठाउँमा पनि कुराकानी गर्न मिल्ने ‘साओमी अफलाइन कम्युनिकेसन’ सुविधा समेत समावेश गरिएको छ ।
नेपालका लागि साओमीको आधिकारिक वितरक टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि. मार्फत यो सिरिज देशभर उपलब्ध हुनेछ । विभिन्न भेरियन्टको मूल्य यस प्रकार तोकिएको छ:
रेड्मी नोट १५ प्रो प्लस फाइभजी: रु. ६६,९९९ (१२/५१२ जीबी) र रु. ५९,९९९ (८/२५६ जीबी)
रेड्मी नोट १५ प्रो फाइभजी: रु. ५६,९९९ (१२/५१२ जीबी) र रु. ४९,९९९ (८/२५६ जीबी)
रेड्मी नोट १५ फाइभजी: रु. ४६,९९९ (१२/५१२ जीबी) र रु. ३९,९९९ (८/२५६ जीबी)
रेड्मी नोट १५ फोरजी: रु. ३५,९९९ (८/२५६ जीबी) र रु. २९,९९९ (६/१२८ जीबी)
कम्पनीले लन्च अफर अन्तर्गत जनवरी १९ देखि फेब्रुअरी १४ सम्म फोन खरिद गर्ने ग्राहकलाई ९ महिनासम्मको शून्य प्रतिशत ईएमआई सुविधा र साओमी बड्समा विशेष छुटको व्यवस्था गरेको छ ।