काठमाडौं । दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ । तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताले गुनासो गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आइतबार घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन् । सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । तर, भरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ ।
संघले उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ । कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ । त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि सेवा उपलब्ध गराइएको छ ।
ग्यास वितरणका लागि बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गरिएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले एक साताका लागि जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको बताए ।
उनका अनुसार बजारमा ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा छन् । फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेकाले नयाँ व्यवस्थाले राहत पुग्ने अपेक्षा गरिएको उनले बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पनि उद्योगीसँगको छलफलपछि उपभोक्तालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन् ।
विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई दशैंका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको हो । सुविधाको दुरुपयोग रोक्न प्रत्येक वास्तविक उपभोक्तालाई एकवटा मात्र सिलिन्डर साट्न दिइनेछ । सेवा लिन आउने उपभोक्ताको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ ।
यद्यपि, जुनसुकै उद्योगको सिलिन्डर साट्न सकिने भनिए पनि व्यवहारमा केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको उपभोक्ताको गुनासो छ । यसले व्यवस्था कार्यान्वयनमा प्रश्न उठाएको छ । घोषित व्यवस्थाअनुसार सबै केन्द्रमा सेवा उपलब्ध भएमा मात्रै उपभोक्ताले अपेक्षित सुविधा पाउनेछन् ।