काठमाडौँ । बागमती प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका ११९ वटा स्थानीय तहलाई ८ अर्ब ६५ करोड ८९ लाख ५८ हजार बजेट उपलब्ध गराउने भएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत अन्तर्गत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत सो बराबरको वित्तीय हस्तान्तरण गर्न लागेको हो ।
प्रदेशले चार प्रकारका अनुदान शीर्षकमा सो बराबरको रकम बाँडफाँड गरेको हो । यसमध्ये समानीकरण अनुदानतर्फ १ अर्ब ६६ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ७६ करोड ३० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ २ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ रहेका छन् ।
प्रदेशमा रहेका तीन महानगरपालिकामध्ये भरतपुरले सबैभन्दा धेरै बजेट पाएको छ । सो महानगरपालिकालाई १५ करोड ४० लाख २५ हजार बजेट विनियोजन भएको हो । राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले १२ करोड ६७ लाख १६ हजार रुपैयाँ बजेट पाउँदा ललितपुर महानगरपालिकाले ७ करोड ४४ लाख ३३ हजार रुपैयाँ मात्र प्राप्त गरेको छ ।
प्रदेशको राजधानी समेत रहेको एक मात्र उपमहानगरपालिका हेटौँडालाई प्रदेशबाट ११ करोड ४५ लाख ७५ हजार बजेट छुट्टाइएको छ । यसपटक काठमाडौँमा रहेका १० नगरपालिकामध्ये नागार्जुन नगरपालिकाले प्रदेशबाट सर्वाधिक १३ करोड ३० लाख ७५ हजार पाएको छ ।
त्यस्तै, शंखरापुरले ९ करोड १ लाख ८२ हजार, चन्द्रागिरिले ८ करोड १९ लाख ५५ हजार, गोकर्णेश्वरले ८ करोड ८ लाख ६८ हजार, तारकेश्वरले ७ करोड ७२ लाख ६६ हजार, कागेश्वरी मनोहराले ७ करोड ३९ लाख १७ हजार,
दक्षिणकालीले ६ करोड ९३ लाख ८८ हजार, टोखाले ६ करोड ८१ लाख १७ हजार, बुढानीलकण्ठले ६ करोड १६ लाख ४१ हजार र कीर्तिपुर नगरपालिकाले ५ करोड ५४ लाख ५३ हजार रुपैयाँ पाएको छ ।