काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले उठाएका विषय अहिले पनि सान्दर्भिक रहेको बताए ।
उनले अहिले देशको राजनीतिक अवस्था झन् जटिल बन्दै गएको र जनतामा नेताप्रति तथा राजनीतिप्रति रहेको वितृष्णा र घृणामा सुधार आउन नसकेको बताए ।
‘आम जनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन । यस बीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो तर अहिले पनि देशको स्थिति जहाँको त्यहीँ छ मात्र होइन, झन् जटिल बनेको छ । देश एक प्रकारले अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन् बढेर गएको छ,’ उनले भने ।
लिङ्देनले समस्या व्यक्तिमा मात्रै नभई शासन व्यवस्था र संविधानमा समेत रहेको दाबी गरे । ‘मान्छे फेरेर मात्रै समस्याको समाधान हुँदैन रहेछ भन्ने कुरा त अहिले ६ महिनामा देखिन थालेको छ । समस्या तपाईंहरूले उत्कृष्ट भनेर ल्याउनुभएको व्यवस्थामा पनि छ । संविधानमा छ,’ उनले भने ।
संविधानलाई संशोधन गर्नै नहुने दस्तावेजका रूपमा लिन नहुने उनको भनाइ थियो । ‘संविधान गीता होइन, बाइबल होइन, कुरान होइन, त्यो छुन नहुने, चलाउन नहुने होइन । हिजो तपाईंले यो संविधान बनाउँदाखेरि राम्रै सोचेर बनाउनुभयो होला, तर आज त्यसमा त्रुटिनै त्रुटिका चाङहरू देखिएका छन्। त्यसकारण नमिलेका चीजहरू मिलाएर जानुपर्छ,’ उनले भने ।
लिङ्देनले निषेधको राजनीतिले देशलाई थप समस्यामा पुर्याएको बताए। राजादेखि राजनीतिक दल, दलदेखि दल र दलभित्रका गुटसम्म निषेधको राजनीति चल्दै आएको भन्दै उनले अब त्यसबाट बाहिर निस्कनुपर्ने बताए ।
उनले राजादेखि राजनीतिक दल र नवयुवा पुस्तासम्मलाई एक ठाउँमा राखेर देशलाई निकास दिनुपर्ने धारणा राखे । २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय प्रतिस्पर्धा, २०६२/६३ को समावेशी समानुपातिकता र जेन–जी पुस्ताको चाहनालाई संरक्षण गर्दै नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
लिङ्देनले कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिँदै सभापति गगन थापा, विश्वप्रकाश शर्मा लगायत कांग्रेस नेताहरूलाई बधाई दिए ।