×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

अब सामान्य फोटो एडिटिङका लागि चाहिँदैन फोटोशप, विन्डोज फोटोजमै उपलब्ध छन् यस्ता शक्तिशाली फिचर

अब सामान्य फोटो एडिटिङका लागि चाहिँदैन फोटोशप, विन्डोज फोटोजमै उपलब्ध छन् यस्ता शक्तिशाली फिचर

काठमाडौँ । फोटो एडिटिङका लागि अहिले बजारमा एडोबी फोटोशप जस्ता शक्तिशाली सशुल्क र थुप्रै निःशुल्क सफ्टवेयरहरू उपलब्ध छन् । तर धेरैजसो प्रयोगकर्तालाई तस्विरको सानो विवरण सुधार्न वा सामान्य काटछाँट गर्न मात्र एउटा टुलको आवश्यकता परिरहेको हुन्छ ।

यस्तो तत्काल र सामान्य एडिटिङका लागि अब तपाईँले कम्प्युटरमा छुट्टै सफ्टवेयर राख्नुपर्ने झन्झट हट्दै गएको छ । विन्डोजको आफ्नै फोटोज (Photos) एप अहिले एउटा सक्षम एडिटरको रूपमा विकसित भइसकेको छ ।

यदि तपाईँले यसलाई सामान्य फोटो हेर्ने माध्यमको रूपमा मात्र लिइरहनुभएको छ भने विचार गरेर हेर्नुहोस्, यसका नयाँ फिचरहरू हेर्न लायकका छन् । के २० सेकेन्डमा विन्डोज फोटोजमा एडिट गरेको फोटो १५ मिनेट लगाएर फोटोशपमा बनाइएको जत्तिकै चम्किलो होला त ? पक्कै पनि हुँदैन । तर सामाजिक सञ्जालमा राख्नुअघि फोटोलाई सफा र आकर्षक बनाउने छिटो तरिका चाहिएको हो भने विन्डोज फोटोज धेरैका लागि पर्याप्त हुन्छ ।

पहिले विन्डोज १० सँगै आउँदा यो एप एउटा सामान्य ग्यालरी भ्युअर मात्र थियो । तर अहिले यसमा शक्तिशाली जेनेरेटिभ एआई फिचरहरू थपिएका छन् ।
यसको सबैभन्दा आकर्षक फिचर जेनेरेटिभ इरेज हो । पहिलेको स्पट फिक्स टुलको यो एड्भान्स रूप हो । यसले एआई प्रयोग गरेर तस्विरबाट नचाहिँदो वस्तु, धुलोका कण वा मानिसहरूलाई हटाउन सक्छ र हटाइएको ठाउँमा वरपरको वातावरण अनुसार मिल्दो विवरण भरिदिन्छ ।

त्यस्तै यसमा रहेको ब्याकग्राउण्ड टुलले तस्विरको मुख्य विषयवस्तुलाई आफै चिन्न सक्छ । यसको मद्दतले तपाईँले एक क्लिकमै ब्याकग्राउण्ड हटाउन, कुनै ठोस रङले प्रतिस्थापन गर्न वा ब्याकग्राउण्डलाई ब्लर गरेर पोर्ट्रेट मोड जस्तो इफेक्ट दिन सक्नुहुन्छ ।

यदि एआईले सही तरिकाले ब्याकग्राउण्ड छुट्याउन सकेन भने तपाईँले मास्क थपेर वा हटाएर आफैँले पनि मिलाउन सक्ने सुविधा यसमा छ ।
विन्डोज फोटोजले फोटो सम्पादनका सबै आधारभूत आवश्यकताहरू पुरा गरिदिन सक्छ । यसमा तपाईँले हाइलाइट, स्याडो, ब्राइटनेस, कन्ट्रास्ट, एक्सपोजर र भिन्नेट मिलाउन सक्नु हुन्छ ।

तस्विरमा कलर स्याचुरेसन, वार्म र टिन्ट समायोजन गर्नेदेखि फिल्टर र अटो-इन्ह्यान्सका विकल्पहरू पनि छन् । अटो इन्ह्यान्स बटन थिचेर एपलाई नै तस्विरको प्रकाश र रङ मिलाउन दिन सकिन्छ ।

फोटोलाई विभिन्न एस्पेक्ट रेसियोमा काट्न, घुमाउन वा फ्लिप गर्न पनि सहज छ । तस्विरमा कलम वा हाइलाइटर प्रयोग गरेर केही कुरा कोर्न वा लेख्न सकिन्छ ।
टो मात्र होइन, यो एपले भिडिओ सम्पादनमा पनि मद्दत गर्छ । यसमा भिडिओ काट्न (Trim) सकिने आधारभूत फिचर छ भने थप एड्भान्स सम्पादनका लागि सिधै क्लिपच्याम्प (Clipchamp) मा जान सकिन्छ ।

यसको नयाँ माइका डिजाइन र एज-टु-एज भ्युले फोटो हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाएको छ । तपाईँले आफ्ना फोटोहरूलाई वनड्राइभ वा आईक्लाउडसँग सिङ्क गरेर सबै डिभाइसमा एकैसाथ व्यवस्थापन गर्न सक्नुहुन्छ । साथै यसमा रहेको मल्टी-भ्यु फिचरले दुई वा सोभन्दा बढी तस्विरहरूलाई एकै पटक राखेर तुलना गर्ने अनुमति पनि दिन्छ ।

व्यावसायिक कामका लागि अझै पनि फोटोशप वा लाइटारुम नै आवश्यक पर्न सक्छ । तर ९५ प्रतिशत सामान्य प्रयोगकर्ताका लागि विन्डोज फोटोजले एडोबीका महँगा सफ्टवेयरको विकल्प दिन थालेको छ ।

यो एप विन्डोज ११ का साथै विन्डोज १० का प्रयोगकर्ताहरूका लागि पनि पछिल्ला अपडेटहरूसँगै उपलब्ध गराइएको छ । त्यसैले अर्को पटक सामान्य फोटो एडिट गर्नुअघि एक पटक विन्डोज फोटोज चलाएर हेर्नु बुद्धिमानी हुन सक्छ ।

प्रतिकृया दिनुहोस्