×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् : वर्षमान

थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् : वर्षमान

चितवन । नेकपाका नेता वर्षमान पुनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  सुझाव दिएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुनेमा सचेत गराएका हुन् । 

सम्बोधनका क्रममा नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै आफ्नो गृह जिल्लामा आएका सबैलाई अध्यक्षका तर्फबाट स्वागत र महाधिवेशनको शुभकामना व्यक्त गरे । 

नेता पुनले रास्वपा र नेकपाबिच पृष्ठभूमि र काम गर्ने शैली फरक भए तापनि सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको उल्लेख गरे । ‘हामी सुशासनको पक्षमा छौँ र विगतमा हामीले सहकार्य पनि गरेका छौँ,’ उनले भने, ‘अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबिच धेरै विषयमा सहकार्य भएको छ, थिति बसाउने यहाँहरूको एजेन्डामा हाम्रो साथ रहनेछ ।’

यद्यपि, नेता पुनले रास्वपालाई एउटा विशेष आग्रह र सुझाव दिँदै भने, ‘थिति बसाउन चालिएका कदमहरू विधिसम्मत हुनुपर्छ र संविधानभन्दा बाहिर नहोस् भन्नेमा यहाँहरूको पर्याप्त ध्यान पुगोस् । उनले यो महाधिवेशनबाट गणतन्त्रका विषयमा रास्वपाले आफ्नो स्पष्ट धारणा ल्याउनुपर्नेमा जोड दिए । 

राजनीतिमा बहुमत प्राप्त गर्दा विनम्रता देखाउनुपर्ने आफ्नो दलको विगतको अनुभव रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको सहभागिताले नेपाली राजनीतिमा सकारात्मक उत्साह भरेको बताए । सिङ्गो देशले रास्वपाको यो महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय हुन्छ भनेर नजिकबाट नियालिरहेको भन्दै उनले सफल महाधिवेशनको शुभकामना व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्