काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बुढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।
महाशाखाका अनुसार बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबारे बिहान ६ बजे प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।
घटनास्थलको पछिल्लो २४ घण्टाको वर्षा विवरणमा छिटपुट मात्र वर्षा देखिएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नरहेको प्रारम्भिक विश्लेषण छ ।
प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर पछि फुट्दा एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको हो । घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो । उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर रहेको छ । बाढीसम्बन्धी सूचना प्राप्त हुनासाथ तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो ।
बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन पाँच मिटरको खतरा तहभन्दा माथि हो । त्यसपछि केही घटेको जलसतह पुनः तीव्र गतिमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको महाशाखाले जनाएको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत अद्यावधिक सूचना सार्वजनिक गरी बुढीगण्डकी नदीको तटीय क्षेत्रदेखि बेनीघाटसम्मका जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो ।
साथै, मुग्लिङसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अपनाउन अपिल गरिएको थियो ।
महाशाखाले बिहान ९ः२५ बजे पुनः एसएमएसमार्फत सूचना पठाउँदै सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको जनाएको छ । उक्त अवधिमा दुई पटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महाशाखाले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई बुधबार साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
नदीको बहाव घटेको देखिए पनि जोखिम कायम रहन सक्ने भएकाले पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ ।
घटनाको थप प्राविधिक विश्लेषणबाट प्राप्त निष्कर्ष तथा बाढीको अवस्थासम्बन्धी अद्यावधिक जानकारी सार्वजनिक गरिने महाशाखाले जनाएको छ ।