×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कांग्रेसको आग्रह- देउवा पक्षले भ्रमपूर्ण गतिविधि गरिरहेको छ, त्यसमा नलागौं

कांग्रेसको आग्रह- देउवा पक्षले भ्रमपूर्ण गतिविधि गरिरहेको छ, त्यसमा नलागौं

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ ।

देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको हो ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

कांग्रेसको नाम, लेटर प्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने ।

उनका अनुसार केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नेपाली कांग्रेसको नाम लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न नगराउन तथा त्यस्त गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा प्रस्तुत वा प्रचार प्रसार नगर्न केन्द्रीय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ’ भनिएको छ ।

बैठकले देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै त्यस्ता कार्यमा विश्वास नगर्न, त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा हार्दिक अपिल गरेको छ ।

बैठकले पार्टीको आग्रहविपरित पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन गरे कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचार प्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुन बमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ निर्णयमा लेखिएको छ ।

प्रतिकृया दिनुहोस्