काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखी पठाउने समितिको निष्कर्ष छ ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सोमबार नै प्रतिनिधिसभा बैठकमा पेश गर्नेछ ।
समितिका सदस्य लेखनाथ दाहालका अनुसार सूर्यदर्शन लगायतका सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्याउने काम गरेका थिए । तर त्यसरी आएको रकम खर्च भने रविमार्फत भएको पाइएको छ ।
गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका तीन जना सञ्चालक (जीबी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । रवि लामिछाने प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेकबाहेक सबैमा उनले नै हस्ताक्षर गरेको छानबिनमा देखिएको छ ।
संसदीय छानबिन विशेष समितिका सदस्य लेखनाथ दाहाल भन्छन्, ‘गोर्खा नेटवर्क प्रालिमार्फत भएको अपचलनमा उहाँको संलग्नता देखियो । त्यसकारण उहाँलाई कानुनसम्मत कारबाही गर्न लेखी पठाउने सहमति भएको छ ।’
तीन महिना भन्दा बढी समय लगाएर प्रतिवेदन लेखेको समितिले जम्मा दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ । दाहालका अनुसार सोधपुछ, बयान, अनुसन्धान र लेखन पछिल्लो एक महिना सँगसँगै चलेको थियो ।
सहकारी छानबिन समितिका अर्का सदस्यले बताए अनुसार रविको नाम आएपछि केही सदस्यबीच वाद प्रतिवाद समेत भएको थियो ।
मतभेदहरु बढ्दै जाँदा समितिका सभापति सूर्य थापाले सम्झाएका थिए, ‘हामी पार्टीको आरोपपत्र लेख्न बसेका होइनौं, दलविशेषमा लक्षित नबनौं, तथ्य र प्रमाण हेरौं ।’
त्यसपछि छलफल गर्दै जाँदा रास्वपा सभापति लामिछानेले तत्कालीन गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकका रुपमा खर्च गरेको सहकारीको रकमबारे समिति सदस्यहरु एकमत भएर निष्कर्षमा पुगेका थिए ।
समितिले गोर्खा मिडियामा रविले लिएको १५ प्रतिशत (स्वेट) शेयरलाई गैरकानुनी भनेको छ ।