काठमाडौँ । ट्वाइलेटको काम ५ देखि १० मिनेटमा पूरा गरिसक्नु पर्छ । तपाईँले ट्वाइलेटमा योभन्दा बढी समय बिताउनुभयो भने, शरीरमा अनावश्यक दबाब पर्छ । यो दबाब केवल दिसा गर्नेसँग मात्रै सम्बन्धित छैन ।
सिटमा बस्ने तरिका र मुद्रासँग पनि सम्बन्धित छ । १५ मिनेटभन्दा बढी ट्वाइलेटमा बस्ने बानीले धेरै गम्भीर रोगहरूको प्रत्यक्ष निम्तो दिन्छ । आजको यस लेखमा हामी लामो समयसम्म ट्वाइलेटमा बस्दा हुन सक्ने चार स्वास्थ्य समस्याहरूबारे कुराकानी गर्नेछौँ ।
लामो समय ट्वाइलेटको सिटमा बसिरहँदा मलाशय र मलद्वारको नसामा धेरै दबाब पर्छ । यो दबाबको कारणले गर्दा नसाहरू फुल्छन् र पायल्सको समस्या सुरु हुन्छ । यसले पेल्भिक क्षेत्रमा रक्तसञ्चारलाई पनि ढिलो बनाउँछ, जसले पायल्सको जोखिम धेरै बढाउँछ भनेर विज्ञहरू भन्छन् ।
लामो समयसम्म ट्वाइलेटमा बसिराख्नु हुन्छ भने, यसले कब्जियतको समस्या बढाउन सक्छ । हाम्रो शरीरमा मल त्याग गर्ने एउटा प्राकृतिक सङ्केत हुन्छ । यो सङ्केत आउँदा समेत दिसा नगरी लामो समयसम्म बस्दा यो सङ्केत कमजोर हुन्छ । यसले दिसालाई अझ कडा बनाउँछ र कब्जियत निम्त्याउँछ ।
पिसाब चुहिने समस्या
लामो समयसम्म ट्वाइलेटमा बस्दा पेल्भिक फ्लोरको मांसपेशी कमजोर हुन्छ । यी मांसपेशीहरूले मूत्राशयलाई सही स्थितिमा राख्न मद्दत गर्छन् । जब यिनीहरू कमजोर हुन्छन्, पिसाब राम्ररी रोक्न असमर्थ हुन्छन् । जसले गर्दा पिसाब चुहिने समस्या निम्तन सक्छ । विशेष गरी, उभिँदा ननिख्रिएको पिसाब बाहिर आउन सक्छ ।
ब्याक्टेरियाको घर बन्छ फोन
तपाईँले ट्वाइलेट जाँदा साथमा मोबाइल फोन पनि बोकेर लानु हुन्छ भने फोन ब्याक्टेरिया र कीटाणुहरूको घर बन्न सक्छ । हात धोएपछि वा फ्लश गरेपछि फोन छुँदा, यी कीटाणुहरू फोनमा टाँसिन्छन् । फोनको तापले यी कीटाणुहरू फस्टाउन चाहिने उत्तम वातावरण तयार पार्छन् । यसले धेरै प्रकारका सङ्क्रमणहरूको जोखिम बढाउँछ ।
के गर्ने ?
अर्को पटक ट्वाइलेट जाँदा ५ देखि १० मिनेटभन्दा बढी नबस्ने प्रयास गर्नुहोस् । सकेसम्म फोन बोकेर ट्वाइलेट पनि नजानुहोस् । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् अनि यी खतरनाक रोगहरूबाट बच्नुहोस् ।