×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला

अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् ।‍ सोमबार भक्तपुरमा आयोजित गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसद्लाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको बताएका हुन् ।

उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए। कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे ।

उनले दुई तिहाइको बलमा कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने जिकिर गरे। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।

त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए । संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताइन् । अहिले एमालेले देश हाँकिरहेको र कांग्रेस छायामा परेको उनको टिप्पणी थियो । कोइरालाले अब हुने पार्टीको सभापति शेखर कोइराला नै भएको जिकिर गरिन् । 

प्रतिकृया दिनुहोस्