काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ साउन १३ देखि १५ गते (जुलाई २९, ३० र ३१) सम्म काठमाडौंको बुढानीलकण्ठ–३ स्थित मिस्टिक क्लबमा आयोजना हुने भएको छ।
आइतबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको विशेष उपस्थितिमा प्रतियोगिताबारे जानकारी दिइएको हो। आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन साउन १३ गते (जुलाई ३०)बिहान ११ बजे हुनेछ।
नेपाल मिक्स बक्सिङ एसोसिएसनका अध्यक्ष राजेश तामाङका अनुसार प्रतियोगितामा नेपालसहित ११ देशका खेलाडी सहभागी हुनेछन्। नेपालसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अजरबैजान, घाना, अमेरिका, जर्मनी, चीन र चिलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले लगानी बढाउँदै लगेको बताए।
उपप्रमुख अनिता लामाले बुढानीलकण्ठलाई खेलकुदमैत्री नगरका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै खेलकुदलाई नगरको मेरुदण्डका रूपमा अघि बढाइने बताइन्।
आयोजकका अनुसार प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने तथा खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
नेपाल मिक्स बक्सिङ एसोसिएसनले यसअघि एसियन मिक्स बक्सिङ च्याम्पियनसिप समेत सफलतापूर्वक आयोजना गरिसकेको छ। यस पटकको विश्वस्तरीय प्रतियोगिताले नेपालको अन्तर्राष्ट्रिय खेलकुद छवि अझ सुदृढ बनाउने विश्वास आयोजकको छ।