काठमाडौं । सहकारी पीडितले बुधबार गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन जनाएको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार विज्ञप्ति जारी गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको जनाएका हुन्।
‘बचतकर्ताहरूको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैर-दलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नेपाली नागरिकहरूमा हार्दिक आग्रह गर्दछौं।’ विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान नहुने र पीडितले पनि आफ्नो बचत फिर्ता नपाउने रास्वपाको जिकिर छ।
‘तसर्थ यसको निराकरणतर्फ काम गर्न सरकार तथा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’ विज्ञप्तिमा भनिएको छ, ‘सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’