काठमाडौँ । स्मार्टफोनमा प्रयोग हुने र्यामको मूल्य वृद्धिका कारण मोबाइलको मूल्य बढ्ने प्रक्षेपण भइरहँदा एप्पलले भने यसको प्रभाव पर्न नदिने रणनीति लिएको छ । विश्लेषक जेफ पुको पछिल्लो अनुसन्धान प्रतिवेदन अनुसार एप्पलले आफ्ना आगामी मोडेलहरू ‘आईफोन १८ प्रो’ र ‘आईफोन १८ प्रो म्याक्स’ का लागि आक्रामक मूल्य निर्धारणको तयारी गरिरहेको छ।
पुले आफ्नो प्रतिवेदनमा ठ्याक्कै कति मूल्य हुनेछ भन्ने अंक उल्लेख नगरे पनि बजारमा यसबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् । अर्का चर्चित विश्लेषक मिङ ची कुओका अनुसार दुवै प्रो मोडेलहरूको सुरुवाती मूल्य पूर्ववर्ती मोडेलहरू अर्थात् आईफोन १७ प्रो र प्रो म्याक्सकै बराबर हुने सम्भावना छ ।
यसअनुसार अमेरिकी बजारमा आईफोन १८ प्रोको सुरुवाती मूल्य १,०९९ डलर र आईफोन १८ प्रो म्याक्सको मूल्य १,१९९ डलर कायम हुनसक्छ । यद्यपि, बेस (सुरुवाती) मोडेल बाहेकका अन्य भेरियन्टहरूको मूल्यमा भने वृद्धि हुनसक्ने देखिएको छ ।
पुले उल्लेख गरेको यो ‘आक्रामक मूल्य रणनीति’ अमेरिकाबाहेक अन्य देशहरूको हकमा कसरी लागु हुन्छ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन ।
एप्पलले सुरुवाती मूल्यलाई गत वर्षकै जति राखेर ग्राहकमा मूल्य स्थिर रहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । तर, र्यामको बढेको लागत असुल गर्न कम्पनीले उच्च स्टोरेज क्षमता भएका महँगा भेरियन्टहरूको मूल्य अझ बढाउने रणनीति लिन सक्ने देखिएको छ ।
एप्पलको यो रोचक व्यापारिक रणनीति कत्तिको सफल हुन्छ र सार्वजनिक भएका यी हल्ला कत्तिको सत्य सावित हुन्छन् भन्ने कुरा हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ ।