काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन् । उनको सन्देश प्रहरी महानिरीक्षक कार्कीले कार्यक्रममा वाचन गरेका थिए ।
‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ । प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री शाहले आन्तरिक शान्ति र सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् । सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्ने उनको भनाइ छ ।
‘प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति धन्यवाद व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ ।