×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

जीवनशैली

नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण रुपमा मुक्त भएको घोषणा

नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण रुपमा मुक्त भएको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण मुक्त भएको घोषणा गरेको छ । खोपमार्फत रोकथाम गर्न सकिने रुबेला उन्मुलनका लागि नेपालले निरन्तर प्रयास गरेको भन्दै डब्लुएचओले यसलाई उल्लेखनीय उपलब्धी भनेको छ ।

सन् २०२५ जुलाई २२ देखि २४ सम्म बसेको डब्लुएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोग (एसईए–आरभीसी) को वार्षिक बैठकले खस्रा–रुबेला निगरानी र खोप वितरणबारे नेपालले पेस गरेको तथ्याङ्क र जानकारी समीक्षा गरी रुबेला उन्मूलन प्रमाणिकरण गर्न सिफारिस गरेको थियो ।

नेपाललाई रुबेला उन्मूलन भएको घोषणा गर्न गरिएको सिफारिसलाई डब्लुएचओका दक्षिण–पूर्वी एशियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले अनुमोदन गरेकी हुन् ।

रुबेला (जर्मन खस्रा) अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । गर्भवती महिलामा यो संक्रमण गम्भीर मानिन्छ ।

गर्भपतन, जन्म पूर्व नै शिशुको मृत्यु वा आजीवन अपाङ्गता ल्याउने जन्मजात समस्याहरू सिर्जना गर्छ । तर रुबेला सुरक्षित र सस्तो खोपबाटै पूर्ण रोकथाम गर्न सकिने रोग हो ।

दक्षिण-पूर्वी एशियाका कार्यवाहक प्रमुख डा बोएमेले रुबेला नियन्त्रणका लागि नेपालले गरेको प्रयासको प्रशंसा गरेकी छन् ।

‘नेपालको सफलताले यहाँको नेतृत्वको अडिग प्रतिबद्धता, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको अथक प्रयास, र सचेत समुदायको दृढ समर्थनलाई प्रतिविम्बित गर्छ, जसले शिशुहरूलाई स्वस्थ सुरुवात र रुबेला रोगमुक्त भविष्य सुनिश्चित गर्छ,’ बोएमेले भनिन् ।

दक्षिण–पूर्वी एशियामा नेपाल रुबेला उन्मूलन गर्ने छैटौँ देश बनेको छ । सन् २०२६ भित्र खस्रा र रुबेला उन्मूलन गर्ने लक्ष्यसहित दक्षिण पूर्वी–एशियामा भुटान, श्रीलंका, माल्दिभ्स, उत्तर कोरिया, र तिमोर–लेस्तेले खस्रा उन्मूलन गरेका छन् ।

डब्लुएचओसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसलाई ऐतिहासिक उपलब्धी भनेका छन् ।

‘ यसले हाम्रो राष्ट्रिय खोप कार्यक्रमको सफलता र स्वास्थ्य प्रणालीको मजबुत आधारलाई देखाउँछ । गाभी र डब्लुएचओको निरन्तर सहयोगप्रति हामी गहिरो सम्मान र आभार व्यक्त गर्छौं । यो उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण नेतृत्व, स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायलाई धन्यवाद दिन चाहन्छु । अब कुनै पनि बालबालिकाले खोपले रोकथाम गर्न सकिने रोगको पीडा भोग्नु नपरोस् भनी सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग गर्न आग्रह गर्दछु,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।

नेपालले सन् २०१२ देखि ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी े रुबेलाविरुको राष्ट्रिय खोप अभियान सुरु गरेको थियो । सन् २०१६ मा दोस्रो मात्रा नियमित खोप तालिकामा थपिएको हो ।

सन् २०१२, २०१६, २०२० र २०२४ मा सञ्चालन भएका चारवटा राष्ट्रिय खोप अभियानले कोभिड–१९ महामारी र २०१५ तथा २०२३ का भूकम्पजस्ता ठूलो चुनौतीबीच पनि खोप पहुँच बढाउन सहयोग गरेको डब्लुएचओको ठहर छ ।

 सन् २०२४ सम्ममा नेपालले रुबेला खोपको कम्तीमा एउटा मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पुर्‍याउन सकेको उल्लेख गरिएको छ ।

‘खोप महिना’ मनाउने, छुटेका बालबालिकासम्म खोप पुर्‍याउने विशेष पहल, र जिल्लाहरूलाई ‘पूर्ण खोपयुक्त’ घोषणा गर्ने जस्ता  रणनीतिले पनि रुबेला उन्मूलनमा सहयोग गरेको डब्लुएचओको निष्कर्ष छ ।

नेपालका लागि डब्लुएचओ प्रतिनिधि डा. राजेश सम्बाजी राव पाण्डवले रुबेला उन्मुलन हुनु ऐतिहासिक सफलता भन्दै बधाई दिएका छन् । ‘यो उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार र समुदायबीचको घनिष्ठ सहकार्यको परिणाम हो । नेपाललाई यो उपलब्धि कायम राख्न डब्लुएचओ निरन्तर साथ दिन प्रतिबद्ध छ’, उनले भने ।

डब्लुएचओले दक्षिण–पूर्व एशियामा खस्रा र रुबेला उन्मूलनको प्रगति अनुगमन गर्न सन् २०१६ मा एसईए–आरभीसी गरेको थियो ।

राष्ट्रिय प्रमाणीकरण समितिहरूले वार्षिक प्रगति प्रतिवेदन पेश गर्छन्, जसलाई एसईए–आरभीसीले मूल्यांकन गरी सुझाव, सिफारिस वा प्रमाणीकरण गर्छ ।

सन् २०१३ मा खस्रा उन्मूलन र रुबेला नियन्त्रण गर्ने लक्ष्य राखिएको थियो । पछि सन् २०१९ मा संशोधन गरी सन् २०२३ सम्ममा खस्रा–रुबेला उन्मूलन गर्ने लक्ष्य बनाइयो ।

कोभिड–१९ महामारीका कारण निर्धारित समयावधिमा लक्ष्य हासिल हुन नसक्ने देखिएपछि अहिले बढाएर सन् २०२६ सम्ममा दक्षिण एशियाबाट रुबेला पूर्ण उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्