काठमाडौं । राष्ट्रिय लिग फुटबल २०८२ का लागि सात वटा फुटबल क्लबले नेसनल लाइसेन्स प्राप्त गरेका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले तोकेको राष्ट्रिय क्लब लाइसेन्सिङ मापदण्ड पूरा गरेपछि यी क्लबलाई लाइसेन्स प्रदान गरिएको एन्फाले जनाएको छ ।
लाइसेन्स प्राप्त गर्ने क्लबहरूमा मछिन्द्र फुटबल क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यू रोड टिम, सातदोबाटो युथ क्लब र चर्च ब्वाइज युनाइटेड रहेका छन्।
एन्फाले खेलकुद, पूर्वाधार, प्रशासन, कानुनी र आर्थिक पक्षको मूल्याङ्कन गरी लाइसेन्स दिएको र यसले क्लबहरूको व्यावसायिकता बढ्दै गएको देखाएको जनाएको छ ।
नेसनल लाइसेन्स पाएसँगै यी क्लबहरू अब एएफसी (एशियन फुटबल कन्फेडेरेसन) को क्लब लाइसेन्सका लागि लायक भएको र एएफसी क्लब लाइसेन्स प्रक्रियामा सहभागी हुन सक्ने पनि एन्फाले जनाएको छ ।
यसले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्लबको प्रतिनिधित्व गर्ने अवसर खोल्नेछ । एन्फाको आयोजनामा यही पुस ३० गतेदेखि १७ क्लब सम्मिलित राष्ट्रिय लिग सुरु हुँदैछ ।