काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो ।
विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए ।
‘अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानताजस्ता बहुसंकटबाट गुज्रिरहेको छ,’ उनले भने, ‘पुनस् चर्किएको महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिमहरु, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूका लागि वार्षिक ४० खर्ब डलरको वित्तीय स्रोत अभावको अवस्था छ ।’ यस्तो परिस्थितिमा इकोसोकको भूमिका इतिहासमा सबैभन्दा बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए ।
यसअघि सो पदमा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे थिए । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष रेले थापालाई अध्यक्ष पद हस्तान्तरण गरे ।
आर्थिक तथा सामाजिक परिषद् ९इकोसक० संयुक्त राष्ट्रसंघका ६ वटा मुख्य अङ्गमध्ये एक हो । यसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयमा सहकार्य र विकासका क्षेत्रमा काम गर्छ ।
यसमा ५४ सदस्य राष्ट्रहरू सदस्य हुन्छन्, जसलाई महासभाले तीन वर्षका लागि क्षेत्रीय आधारमा निर्वाचित गर्छ । इकोसकले विकासदेखि मानवअधिकारसम्म काम गर्ने संयुक्त राष्ट्रसंघका विशेष एजेन्सीहरू, आयोगहरू र निकायहरूको कामलाई समन्वय गर्छ । यो स्थापना भएको ८० वर्ष पुगिसकेको छ ।
अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने विषयमा निर्णय गर्ने निकाय पनि इकोसक नै हो । स्तरोन्नतिसम्बन्धी विषयमा विकास नीति केन्द्र नामक राष्ट्रसंघीय निकायले गर्ने सिफारिसलाई इकोसकले स्वीकृति प्रदान गरेर महासभामा पेश गर्छ । महासभाले यस सम्बन्धमा अन्तिम निर्णय गर्छ ।
यो निकायले कोही पनि पछि नछुट्ने कुराको सुनिश्चितता गर्दै विश्वको विकास एजेन्डा निर्धारण गर्ने काम यो निकायले गर्नुपर्ने थापाले बताए ।
‘इकोसोक हामी सबैको ठाउँ हो । यसमा संयुक्त राष्ट्रसंघका सबै सदस्य तथा सरोकारवालाको समर्पण, सहभागिता र सक्रिय संलग्नता आवश्यक छ,’ उनले भने ।
थापासँगै आगामी वर्षका लागि चार उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्, जसमा अल्जेरियाका अमार बेन्डजामा, स्पेनका हेक्तर गोमेज हर्नान्डेज, डोमिनिक गणतन्त्रका वेलिङ्टन डारिओ बेन्कोसमे कास्टानोस र आर्मेनियाका परुयर होभानिस्यान छन् ।