काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न र रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष स्थानीय निर्वाचन प्रणालीमा सुधार र विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने विषयमा ज्ञापनपत्र बुझाएको हो।
पार्टीले स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन तथा स्थानीय विकासको प्रभावकारी माध्यम बनाउनुपर्नेमा जोड दिएको छ। स्थानीय तहमा जनप्रतिनिधि चयन गर्दा दलीय आबद्धताभन्दा उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, स्पष्ट कार्ययोजना र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको मान्यता छ।
उज्यालो नेपाल पार्टीका अनुसार स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउने प्रस्ताव बहुदलीय लोकतन्त्रको विरोध नभई स्थानीय सरकारलाई थप नागरिकमुखी, निष्पक्ष र परिणाममुखी बनाउने सुधारको अवधारणा हो। स्थानीय सरकार जनताको साझा सरकार बन्नुपर्ने र विकास तथा सेवा प्रवाहमा राजनीतिक आग्रहभन्दा जनताको आवश्यकता प्राथमिकतामा पर्नुपर्ने पार्टीको धारणा छ।
त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई पनि पार्टीले प्रमुखताका साथ उठाएको छ। वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत विभिन्न कारणले देशबाहिर रहेका नेपाली नागरिकले आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पार्टीले माग गरेको हो।
देशको अर्थतन्त्र र विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गर्दै पार्टीले विदेशबाट मतदान गर्न सकिने सरल, सुरक्षित, कम खर्चिलो र प्रभावकारी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ। विदेशमा रहेका नेपालीको मतदानबारे आयोगले गरिरहेको छ ।
अध्ययन ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्तले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार कार्यान्वयनका लागि सरल, सुरक्षित, कम खर्चिलो र अधिकतम सहभागिता सुनिश्चित गर्ने मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको पार्टीले जनाएको छ। निर्वाचन सुधारका विषयमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको धारणा पनि प्रमुख निर्वाचन आयुक्तले व्यक्त गरेको ज्ञापनपत्र बुझाउने क्रममा जानकारी दिइएको छ।
पार्टीले स्थानीय निर्वाचनलाई थप जनमुखी बनाउने र विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने दुवै विषयमा आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत सुधारका लागि समयबद्ध पहल गर्न आग्रह गरेको छ। सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायको आफ्नो प्रतिबद्धताअनुरूप निर्वाचन प्रणाली सुधारका विषयलाई निरन्तर अघि बढाउने जनाएको छ।
पार्टीको भनाइमा स्थानीय तहमा योग्य, इमानदार र जनउत्तरदायी नेतृत्व स्थापित गर्नु तथा संसारको जुनसुकै कुनामा रहेका नेपाली नागरिकलाई देशको लोकतान्त्रिक प्रक्रियासँग जोड्नु लोकतन्त्रलाई बलियो बनाउने महत्त्वपूर्ण आधार हुन्।
स्थानीय सरकारलाई जनताको साझा संस्था बनाउने र विदेशमा रहेका नेपाली नागरिकको मताधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा पार्टीले उठाएको मागले निर्वाचन प्रणालीको सुधारसम्बन्धी बहसलाई थप महत्त्वपूर्ण बनाएको छ। उज्यालो नेपाल पार्टीले यी दुवै विषयमा नीतिगत तथा संस्थागत पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।