काठमाडौं । इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल(बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ । हमासले आइतबार बिहान यसबारे पुष्टि गरेको हो। यो हमला दक्षिणी गाजाको खान युनिस शहरमा भएको थियो ।
त्यसैगरी, शनिबार राति इजरायलले लेबनानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गर्यो। यी हमलाहरूमा ७ जनाको ज्यान गएको छ । इजरायलले यो हमला लेबनानबाट प्रहार गरिएका रकेटहरूको जवाफमा गरेको बताएको छ । चार महिनादेखि हिजबुल्लाहसँग चलिरहेको युद्धविरामपछि इजरायलको यो पहिलो ठूलो हमला हो ।
हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा रकेट प्रहार नगरेको र युद्धविरामको पालन गरिरहेको बताएको छ। तर, इजरायली सेना (आईडीएफ) का अनुसार लेबनान सीमामा रहेको मेटुला सहरबाट ६ रकेट प्रहार गरिएका थिए, जसमा ३ वटा इजरायली भूमिमा प्रवेश गरेका थिए तर ती रकेटहरू हावामै नष्ट गरिएको थियो ।
आईडीएफका अनुसार आक्रमणकारीहरूको पहिचान हुन नसके पनि हिजबुल्लाहका कमाण्ड सेन्टर र दर्जनौं रकेट प्रक्षेपण स्थललाई लक्षित गरिएको छ ।