×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

काठमाडौं। विभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरी बिच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।

लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रिय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहदा प्रहरीले बल प्रयोग गरेको स्थानीयको आरोप छ ।

मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्‌काबेला प्राप्त मूर्ति र अस्तुधातुलगायतका सामाग्री खोजी गरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका मागसहितविरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बहिर निकालेको थियो।

प्रदर्शनकारी महिलाहरुलाई चोटपटक लागेपछि आक्रोशित स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले कार्यालय घेराउ गर्न आएका महिलाहरुमाथि प्रहरीले दमन गरेको आरोप लगाए । उनले भने, ‘सम्झौताहरु कार्यन्वयन किन नभएको भन्दै कार्यालय घेराउ गर्न पुगेको स्थानीयहरुमाथि प्रहरीले लाठी प्रहार गरेर मुठभेड निम्त्यायो।’

लुम्बिनी विकास कोषले सम्झौता कार्यन्वयन नगरे अब कडा अन्दोलनमा उत्रिने उनले भने । मायादेवी मन्दिरमा पुजा गर्ने परम्परालाई बन्देज लगाई लुम्बिनी विकास कोषमा जग्गा दान दिएकाहरुलाई अवहेलना गर्दै कर्मचारी भर्ना गरिएको उनले बताए । यसैगरी मायादेवी मन्दिरमा प्रवेशको लागि लगाइएको टिकट शुल्क खारेज गर्न माग रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले भने प्रहरीले स्थिति नियन्त्रणमा लिन मात्र खोजेको तर कुनै किसिमको बल प्रयोग नगरेको बताए । कार्यालय भित्र रहेका भीडलाई नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्