×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ । सर्लाहीमा ट्राफिक जाँचको क्रममा एक व्यक्तिको मोबाइलमा भेटिएको तस्बिरको आधारमा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवाबाट मोहन पासवान र रामहुलास पासवानलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०८२ साउन ७ गते दिउँसो साढे ४ बजे मलंगवा नगरपालिका वडा नं ८ स्थित प्रहरी चौकी गोरखकालीको चेक पोस्टमा ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले सवारी जाँच गरिरहेको थियो । 

सोही क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० ए १०७१ नम्बर प्लेटको मोटरसाइकललाई रोकेर चालकसँग ड्युटीमा खटिएका प्रहरीले कागजात मागेको थियो ।

मलंगवा–६ सुखैनिया बस्ने चालक मोहन पासवानले मोटरसाइकलको कागजात आफ्नो मोबाइलमा रहेको बताए । र मोबाइल देखाउने क्रममा प्रहरीले उनका १२ वर्षीय छोरा नवल पासवानले कटुवा पेस्तोल बोकेर ताकेको तस्बिर देख्यो ।

तस्बिरबारे सोधपुछ गर्दा मोहनले उक्त पेस्तोल मलंगवा–६ सुखैनिया बस्ने २३ वर्षीय रामहुलास पासवानको भएको रहस्य खोलेका प्रहरीको भनाइ छ । मोहनको बयानका आधारमा प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो । 

त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको ९ जनाको टोलीले रामहुलासको खोजी सुरु गर्‍यो । र सोही दिन राति साढे बजे प्रहरीको टोलीले रामहुलासलाई उनकै घरबाट पक्राउ गर्न सफल भयो ।

पक्राउ परेका रामहुलासले देखाएको आधारमा उनको घरको पूर्वपट्टिको भित्तामा कपडाले बेरेर लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई जरुरी पक्राउ पुर्जी दिई सर्लाही जिल्ला अदालतमा पेस गरिएको छ । अदालतले थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्