काठमाडौं । देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ । सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा ‘डेलिगेनस’ गएको हस्ताक्षर संकलन गरेको समूहले उनीसँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको हो ।
‘डेलिगेनस’मा सहभागी नेता मनोजमणि आचार्यले नेता कोइरालासँग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाउन नसक्नुको कारणबारे पनि गुनासो गरिएको बताए ।
‘उहाँ (कोइराला)लाई हामीले तपाईंलाई मतदान गरेका मतदाताहरूदेखि सबैले हस्ताक्षर गरेको विषय केन्द्रीय समिति बैठकमा किन प्रवेश पाएन । यसको नेतृत्व गरेर तपाईंले विशेष महाधिवेशनको वातावरण बनाउनुप¥यो भन्ने कुरा राख्यौं’, आचार्यले भने ।
नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको विषय र विशेष महाधिवशेनमा जाने विषयमा आफूले समन्वय गरिराखेको जवाफ दिएको उनले जानकारी दिए । नेता आचार्यका अनुसार कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे दुई वटा प्रस्ताव नओस् भन्ने चाहना आफ्नो रहेको पनि बताए ।
‘म पार्टीलाई एक बनाउन लागिरहेको छु । पार्टीभित्र दुई वटा प्रस्ताव नआओस्, एउटै प्रस्ताव आओस्,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चाहे विशेष महाधिवशेनभित्र रहेर नियमित महाधिवेशनको विषय या विशेष महाधिवेशनलाई लैजाने विषयमा मैले समन्वय गरिराखेको छु ।’