×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भदौअघि माओवादीको केन्द्रीय समिति बैठक नबस्ने

भदौअघि माओवादीको केन्द्रीय समिति बैठक नबस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने भएको छ । गत वर्षको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार असारभित्र बैठक बस्नुपर्ने थियो । तर मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न नभएकाले भदौसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नभएको उपमहासचिव हरिबोल गजुरेलले बताए । 

जेठको पहिलो हप्तासम्म पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेपछि असारमा केन्द्रीय समिति बैठक बोलाउने, त्यस बैठकले महाधिवेशन मिति घोषणा गर्ने निर्णय भएको थियो । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन १५ गतेभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेकाले केन्द्रीय समिति बैठक भदौयता बस्ने सम्भावना देखिँदैन । 

‘मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सकिएको छैन । अभियान सकिएपछि मात्र केन्द्रीय समिति बैठक बस्छ । साउनको दोस्रो साता स्थायी समिति बैठक बोलाइएको छ । सोही बैठकले केन्द्रीय समिति बैठक बोलाउँछ । यस हिसाबले भदौयता बैठक बस्ने सम्भावना छैन’, गजुरेलले भने । 

पार्टी एकताको विषयमा असार १३ गते खुमलटार गएका नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्रा राय यादवसँग पनि अध्यक्ष प्रचण्डले पार्टीको अभियान सकिएपछि केन्द्रीय समिति बैठक बोलाउने र त्यही बैठकले एकता महाधिवेशनबारे निर्णय गर्ने बताएका थिए । यस्तै स्थायी समिति बैठकको मिति समेत निश्चित नभएको उपमहासचिव गजुरेलले बताए । बैठकको एजेन्डाबारे आन्तरिक छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्