×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

९ अंकले बढ्यो सेयर बजार

९ अंकले बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रम बिहीबार रोकिएको छ । साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंक बढेको हो ।

यो साता आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्सेमा बिहीबार सुधार आएको हो । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको नेप्सेले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबारपछि बैंक गएर कर्जा लिई ब्रोकरलाई तिर्नुपर्ने झन्झट अन्त्य हुने भएपछि बजारमा कारोबार बढ्ने तथा लगानी समेत बढाउन सकिने भएकाले लगानीकर्ताको मनोबल सकारात्मक भएको देखिन्छ ।

बिहीबार कारोबार सुरु हुँदा २६६२.१० अंकमा रहेको नेप्से सूचक ८.९७ अंक बढेर २६७१.०७  बिन्दु पुगेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो ।

बिहीबार नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ  । त्यसैगरी १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । जलविद्युत् कम्पनीको सेयर मूल्यमा सुधार आए पनि समूहगत सूचक ३४.६५ अंक बढेको छ ।

त्यसैगरी बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंक बढेको नेप्सेले जनाएको छ । तर, बिहीबार होटल १२१.३४, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३.५७ अंक घटेका छन् ।

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिने नेप्सेमा ३ सय ३७ कम्पनीको १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

प्रतिकृया दिनुहोस्