काठमाडौं । काठमाडौँमा चुनाव अघि देखि नै अभाव देखिएको खान पकाउने ग्यासको अभाव त्यसपछि अमेरिका र इजरायलले इरानमा आक्रमण गर्न शुरु गरेपछि झन् बढेको छ । ग्यास डिपोमा लामो लाइन देखिन लागेको छ भने सरकार अनविज्ञ बनेको देखिएको छ ।
चुनावपछि नयाँ सरकार आउने चरणमा रहे पनि अहिलेको सरकारले अब आफ्नो जिम्मेवारी पुरा भएको जस्तो व्यबहार देखाएको छ । अहिले सामान्य ग्यास बिक्री केन्द्रमा ग्यासको अभाव छ तर धेरै पैसा तिने अफर गरेमा कहिँ न कहिँबाट उनीहरुले सजिलै व्यवस्थापन गरिरहेको अवस्था देखिएको छ । अरु बेला अनुगमन गरौँ भन्ने बाणिज्य विभाग अहिले ग्यासको चरम कालोबजारी भएको समयमा चुपचाप देखिएको छ भने सरकारी संयन्त्र मौन देखिएको छ ।
अर्को तर्फ नेपाल आयल निगमले भने अन्य सामान्य समयमा जस्तै ग्यास आइरहेको र कसरी अभाव भएको छ भन्ने जवाफ दिन सकेको छैन । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ ।
ठाकुरका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ । उनले उपभोक्ताले भण्डारण गर्न थालेकोले अभाव देखिएको बताए । फागुनको २६ गतेसम्म साढे ४५ हजार मेट्रिक टन ग्यास आइपुगेको आँकडा उनले दिए ।
निगमले एलपी ग्यासको कुनै स्टक राख्ने गरेको छैन । ग्यास उद्योगबाट अर्डर लिने र सोहि अनुसार भारतबाट आएको ग्यास वितरण गर्ने गर्दछ । निगमले ‘पीडीओ’ जारी गर्ने गरेको र सम्बन्धित उद्योगले भारतका ढुवानीकर्तामार्फत ग्यास ल्याएर वितरण गर्ने व्यवस्था रहेको प्रवक्ता ठाकुर बताउछन् ।
अर्कोतर्फ चुनाव भर्खर सकिएको छ तर उभोक्ता ग्यासको लाइनमा र इन्डक्सन खोज्न दौडधुपमा रहेका छन् । तर कुनै राजनीतिक दलले एउटा विज्ञप्ति सम्म निकालेर यसको सम्बोधनको ध्यानाकर्षण गराएको देखिदैन । अत्याधिक बहुमत पाएर सरकार बनाउन लागेको दल रास्वपा पनि मौन देखिनु अचम्म लाग्दो देखिएको छ ।
अर्कोतर्फ आयल निगमले अहिलेको समस्या समाधान गर्न भन्दै शुक्रबारदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण शुरु गरेको छ ।