काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर वैशाख २ मा मृत्यु भएको आनन्दीदेवी सदायको घटना छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा समिति पठन गरिएको मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले रातोपाटीलाई बताए । समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन् ।
बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन । पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेका बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ ।
उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारले जाहेरी ढिला दर्ता गरेको पाइएको छ । प्रहरीले घटना दर्ता लगायतका कुरामा ‘बेवास्ता’ गरेको विषय र मृत्युको कारणबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको डीआईजी आचार्यले जानकारी दिए । सदायलाई करणी गर्न खोज्नेहरू भागेका छन् ।