काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण उनले दिए ।
‘हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न सकेनौं, या हामीमा के के विकृति आए रु यसको आत्मसमीक्षा गरौं,’ सहसंयोजक नेपालले भने, ‘ यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौं भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौं ।’
साथै, उनले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता आजको रहेको जिकिर गरे । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन,’ नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’
उनले आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसक्ने बेलासम्म गफाडीको गफमात्रै हुने उनले बताए ।
‘अब हामी कसरी अघि बढ्ने रु समाजवादी क्रान्तिको यो चरणमा प्रवेश गरेपछि कसरी नेपाली समाजलाई अघि बढाएर लैजाने हो ? त्यसका निम्ति कहाँबाट हामी चुक्यौं ? कहाँ गल्ती गर्यौं ? यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भएको छ ? हामी सबैले आत्मसमीक्षा गरौं,’ नेपालले भने, ‘के हुन कारणहरू ? विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादीताले ? मै हुँ भन्ने प्रवृत्तिले, भ्रष्टाचार गर्ने प्रवृत्तिले ? के के कारणले हो ?’
उनले मदन भण्डारीलाई स्मरण गर्दै उनको विचार पछ्याउन आग्रह गरे ।
‘उहाँले परसम्मको दृष्टिकोण राखेर चल्नुहुन्थ्यो । समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो । वास्तविकताको धरातललाई जोड दिनुहुन्थयो । चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले पार्टीको अनुशासन कहिले पनि तोड्नुभएन । थुप्रै संस्मरणका शृंखला छन्,’ नेपालले भने, ‘कुनै पनि प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा उहाँले जोड दिनुभएको छ । जबजका कतिपय पक्ष हामीले अहिले पनि ग्रहण गर्नुपर्ने हुन्छ ।’