काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री समेत रहेकी डा. आरजु राणा देउवाले नेपाल फर्किएर आफूहरु विरुद्ध चलिरहेको सम्पत्ति सम्बन्धी अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भन्दै पक्राउ पूर्जी जारी नगर्न अनुरोध गरेका छन् ।
दुवैजनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त पत्र पठाएर दुई महिनाभित्र नेपाल फर्किन तयार रहेको भन्दै नेपाल आउन कठिन हुने अवस्था नबनाइदिन आग्रह गरेका हुन् ।
दुवैजनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदारहँदै हामीलाई ‘देश छाडी भागेको’, ‘अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना गरी हाम्रा विरुद्ध पक्राउ पूर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाइ हुने अवस्था नबनाइयोस् भनी अनुरोध गरेका छौं ।’
पत्रमा असार २८ गतेको मिति उल्लेख छ । तर सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले इमेलबाट प्राप्त पत्र आधिकारिक रहेको पुष्टि गर्दै देउवा दम्पतीले नै त्रुटीबस एक महिनापछिको मिति उल्लेख गरेको बतायो । पत्रको बोधार्थप्रति विशेष अदालतमा समेत पुगेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि पक्राउ पूर्जी जारी गर्न वा मुद्दा चलाउनुपरेमा विशेष अदालत पुग्नुपर्छ । देउवा दम्पतीले आफूहरुको सम्भावित मुद्दा हेर्ने अदालतमा समेत पत्रको बोधार्थ पठाएका हुन् ।