×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौं महानगरमा विपन्न तथा असहायलाई नि:शुल्क उपचार

काठमाडौं महानगरमा विपन्न तथा असहायलाई नि:शुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धति प्रवर्द्धन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ । ‘निस्शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारीचाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा छ ।

महानगरवासीको मिर्गौला रोगको उपचारका लागि डायलासिस सेवा सहजीकरण गर्ने घोषणा गरिएको छ । मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने समेत घोषणा गरिएको छ ।

सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवा व्यवस्थापन गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने छ । साथै, विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निस्शुल्क उपचार गर्ने व्यवस्था कडाइसाथ लागु गरिने समेत उल्लेख छ ।

महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय समेत महानगरपालिकाको प्राथमिकतामा परेको छ ।
 

प्रतिकृया दिनुहोस्