काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
नेताहरूका अनुसार सम्भवतः आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ। नयाँ पार्टी निर्माणको गृहकार्य तीव्र गतिमा भइरहेका बेला पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि प्रारम्भिक समझदारी बनिसकेको छ।
पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीका अनुसार नयाँ पार्टीको सांगठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने सहमति भएको छ। त्यसैगरी, अभियानका संयोजक दुर्गा प्रसाईंलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ।
राप्रपाबाट अलग भएको समूह र हिन्दु राष्ट्र एवं राजसंस्थाको एजेन्डा बोकेर सडक आन्दोलन गरिरहेको प्रसाईंको महाअभियान एक ठाउँमा उभिएर नयाँ दल घोषणा गर्न लागेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।