काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षको ढोकामै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले धर्ना दिएको छ । त्रिवि अखिल क्रान्तिकारीको कामु अध्यक्ष शिवराज भट्टका अनुसार २४ घण्टा नै धर्ना दिएको चार दिन भयो । तर, माग सम्बोधन भएको छैन ।
‘शुल्क शोषण विरुद्ध धर्ना दिएका हौँ । चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क घटाइएको छैन,’ उनले भने । अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो ।
‘पहिले प्राइभेट प्रोग्राम थियो । ९ महिना अघि केन्द्रीय विभागमा ल्याइयो । तर शुल्क भने पुरानै जसरी उठाइएको छ । केन्द्रीय विभागमा आएपछि शुल्क घटाउन माग गरेका हौँ,’ भट्टले भने ।
आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ । ‘शिक्षक कर्मचारीको व्यवस्थान भएको छैन । त्रिविले सहयोग नगरेकाले धर्ना दिएका हौँ,’ उनले भने ।
उपकुलपति दीपक अर्यालसँग छलफल भएको तर एक हप्ताको समय मागिएको उनले बताए ।
‘उपकुलपति सरसँग कुरा भएको छ । एक हप्तामा प्रतिवेदन ल्याउने भनेको छ । तर हाम्रो माग अनुसारको प्रतिवेदन आयो भने धर्ना फिर्ता लिन्छौं, नभए जारी रहन्छ,’ उनले भने, ‘चार दिनदेखि उपकुलपतिको ढोकामा बसेका छौँ । शुल्क नघटेसम्म बाहिर निस्कँदैनौं ।’
उपकुलपति अर्यालको कामकाजमा भने अवरोध नगरेको क्रान्तिकारीले जनाएको छ ।
‘उपकुलपति सर कार्यालयमै आउनु भएको छ । उहाँको काममा अवरोध गरेको छैन । ७ दिनसम्म पनि माग सम्बोधन नभए आन्दोलनको स्वरुप परिवर्तन गर्छौं,’ भट्टले भने ।
त्रिवि क्रान्तिकारीको आन्दोलनलाई केन्द्रीय कमिटिले समेत साथ दिएको छ । क्रान्तिकारीका केन्द्रीय नेताहरू पनि धर्ना दिन उपकुलपतिको कार्यालयमा पुगेका छन् ।
अखिल क्रान्तिकारीले नै शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाललाई विश्वविद्यालय प्रवेशमा रोक लगाएका छन् । फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै क्रान्तिकारीले विरोध जनाउँदै पदाधिकारीलाई प्रवेश निषेध गरेको हो ।
‘फास्ट ट्रयाक रोक्यो भने प्रवेश निषेध पनि खुल्छ । लिखित परीक्षा बिना प्राध्यापक नियुक्त गर्न लागेको विरोधमा प्रवेश निषेध गरेका हौँ,’ भट्टले भने ।
क्रान्तिकारीको निषेधका कारण शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल कार्यकक्ष जान पाएका छैनन् । उनीहरू गत १४ जेठदेखि कार्यकक्ष जान नपाएका हुन् ।