गुल्मी । २५ वैशाख साँझदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको सरसफाइ एवं मर्मत गरिने भएको छ । साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य हुने भएकोले पावरहाउसका तीन वटै मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।
सरसफाइ एवं मर्मतका समयमा सुरुङमार्फत पावरहाउसमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने केन्द्रले जनाएको छ । ड्यामका सबै गेट खोलिने भएकोले कालीगण्डकी नदीमा साविकको तुलनामा पानीको बहाव बढ्ने र नदीको सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाइएको छ ।
त्यसैले सम्बन्धित निकायले नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न आग्रह गरेको छ।
उक्त समयमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा नजान विशेष अनुरोध गरिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र ले मर्मत कार्यका कारण हुने अस्थायी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।