×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रदेश

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् । 

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।  पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो । 

पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ। कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् । 

नयाँ समीकरणपछि गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेलाई ४ मन्त्रालय पर्नेगरी भागबन्डा मिलाइएको थियो । कांग्रेसले आफ्नै कोटाबाट नेसपालाई मन्त्री बनाएको हो । यसअघि ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।

प्रतिकृया दिनुहोस्