काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैनिक पठाउने सम्भावनाबारे तयारी सुरु गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यम एनबिसी समाचारले विभिन्न स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
उक्त विवरणअनुसार ट्रम्पले राष्ट्रपतिको कार्यालयका सहयोगी तथा रिपब्लिकन दलका नेतासँग भएको छलफलमा यो विषय उठाएका थिए । ती छलफलमा उनले युद्धपछि इरानको भविष्यबारे आफ्नो योजनासमेत उल्लेख गरेका थिए । सो योजनामा तेहरान र वासिङ्टनबीच तेल क्षेत्रको सहकार्यको सम्भावनाबारे पनि चर्चा गरिएको बताइएको छ ।
स्रोतका अनुसार ट्रम्पले ठूलो स्तरको स्थलगत आक्रमणको योजना भने अघि बढाएका छैनन् । बरु सीमित संख्यामा अमेरिकी सैनिकलाई विशेष रणनीतिक कार्यका लागि पठाउने विकल्पबारे विचार भइरहेको बताइएको छ ।
यद्यपि यस विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको र ट्रम्पले औपचारिक रूपमा कुनै घोषणा नगरेको पनि समाचारमा उल्लेख गरिएको छ ।