काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत उक्त निर्णयको स्वागत गर्दै आफूहरूले सुरुबाटै प्रश्न उठाउँदै आएको स्मरण पनि गरेका छन् ।
सँगै सरकारलाई बिजुलीमा लगाएको भ्याट जस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन उनले आग्रह गरेका छन् ।
‘साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्,’ उनले भनेका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा फिर्ता गर्ने निर्णयलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक प्रक्रिया पूरा गर्न पनि उनले भनेका छन् ।
गगनले के भनेका छन्–
सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर लागू नगर्ने निर्णयको स्वागत छ।
यो व्यवस्था अनुपयुक्त भएको कुरा हामीले प्रारम्भबाट नै उठाउँदै आएका थियौं।
निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता (गिहगचथ) होइन, बाध्यता हो।
निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन।
त्यसैले समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो।
सरकारले यही आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको छ। यो निर्णय सही छ। उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस् ।
साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस् ।