काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् ।
‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ ।’
उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको भन्दै उनीहरूले आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउने राष्ट्रसेवक प्रहरीहरूमा श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
विज्ञप्तिमा आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई आग्रह गरेका छन् ।
भदौ २४ गते बानेश्वरस्थित सङ्घीय संसद् भवन, सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्ताबेजहरू नष्ट हुने गरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।