काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद स्थापना गर्न सम्पूर्ण क्रान्तिकारी मिल्नुको विकल्प नरहेको बताएका छन् । शनिबार प्रज्ञा डबलीमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले देश संक्रमणवाट गुज्रिएको बताउँदै यसवाट देश र जनतालाई मुक्त पार्न नेपाली विशेषताको समाजवादको बिकल्प नभएको बताएका छन। देश स्वाधीन होस् भन्ने जनताको चाहना पुरा नभएको ठोकुवा गर्दै यसको निम्ति नेपाली विशेषताको समाजवाद अनिबार्य भएको उनले बताएका छन।
यो देश र जनताको मुक्तिको लागि देशको नेतृत्व र जनताको सेवा गर्न तयार भएको बताउँदै यसकै निम्ति क्रान्तिकारी बिचको ध्रुविकरणलाई तिब्रता दिएको बताएका छन ।
महासचिव विप्लव सीले माओवादीहरु एक हुनुपर्ने आवश्यकता औंल्याउँदै भने: ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादीमात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’