काठमाडौं । सगरमाथा क्षेत्रमा बेपत्ता ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि फेला परेका छन् । खोजी टोलीले आज बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।
उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए । उनको खोजीमा खटिएका एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा दावालाई फेला पारिएको हो ।
उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदैछ । फेसबुकमा सार्वजनिक दावाका तस्वीरहरुमा उनका हातका औंलामा घाउ भएको देखिन्छ ।
दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए । आज उनलाई फेला पारेर आधार शिविर हुँदै उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।