×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सेनाका जनरलहरुको सम्मेलन सुरु

सेनाका जनरलहरुको सम्मेलन सुरु

काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा सुरु भएको बैठकमा सेनाका सबै विभाग, महानिर्देशनालय, निर्देशनालयसँगै सबै पृतनाका प्रमुखहरुको सहभागिता छ ।

बिहीबारबाट सुरु भएको सम्मेलनमा अहिलेको परिस्थितिमा बदलिंदो सुरक्षा चुनौतिबारे समीक्षा हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्वको सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरेका छन् ।

‘यस्तो अवस्थामा आन्तरिक र बाह्य परिस्थिथितिमा आउनसक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतिहरु सिर्जना हुनसक्छन्’, उनले भने, ‘नेपाली सेना नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका अन्तरनिहित कार्यहरु सम्पादन गर्न सदैव प्रतिबद्ध छ ।’

उनले भविष्यमा देखा पर्नसक्ने सुरक्षा चुनौतिलाई सामना गर्न नेपाली सेनाले पृतनापति सम्मेलनले समयानुकूल विश्लेषण गर्ने बताए । ‘बदलिँदो परिस्थितिलाई विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुनेछ’, उनले भनेका छन् ।

सम्मेलनको उद्घाटनमा सहभागी रक्षामन्त्री मानबहादुर राईले पनि विश्वको बदलिँदो भू-राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले नेपालमा पनि कुनै न कुनै रुपमा प्रभाव पार्ने विश्लेषण सुनाए।

‘सेनाले जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरू, प्रविधि लगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्नेछ’, राईले भने ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख गौरव केसीका अनुसार, नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नेछन्।

प्रतिकृया दिनुहोस्